के अवोध पशुको घाँटी रेटेर रगत चढाउँदा देवीदेवता खुशी हुन्छन्???
के अवोध पशुको घाँटी रेटेर रगत चढाउँदा देवीदेवता खुशी हुन्छन्???
Photo: google
रोशन खरेल
गुल्मी
हरेक बर्ष नेपालीहरूकोे महान चाड नजिकिँदै गर्दा पशुबलि विरुद्धको आवाजहरु उठ्ने गरेका हुन्छ्न। तर पशुबलि विरुद्धको आवाज यदाकदा मौसमी रूपमा मात्र उठ्ने गरेको पाइन्छ । नेपाल भित्र र देश बाहिर (भारत)बाट पनि अहिंसा प्रेमीहरूले बलि प्रथा रोक्न आवाज उठाए पनि सरोकारवाला पक्षले आवाजलाई नजरअन्दाज गर्दै अबोध पशुपंक्षीहरूको रगतरूपी होली प्रथालाई निरन्तरता दिइरहेकै छ। नेपाली समाजमा बलि प्रथा सनातन कालदेखि चल्दै आएको विश्वास गरिन्छ ।
ऐतिहासिक कालखण्डको पाना पल्टाउँदा मानव स्वार्थका लागि मानव बलि पनि चढाएको पाइन्छ ।नेपाली समाजमा व्यक्तिगत स्वार्थ (भाकल)देखि लिएर कुल, परिवार र समाजको हित हुने नाममा देवदेवीको मन्दिरमा बलि दिने कार्य चल्दैै आएको छ । देवदवीको नाममा दिनहुँजसो हजारौंको संख्यामा पशुपंक्षीको बलि दिइन्छ ।दशैंमा देवीको मन्दिरमा मात्र नभई घर घरमा पनि पशु बलि दिने गरिन्छ ।
किन दिन्छन् बलि ?
देवदेवीलाई बलि दिँदा देवदेवीहरू खुशी हुन्छन् र आफूले चिताइएका इच्छा, आकाङ्क्षाहरू सबै पुरा हुन्छन् भन्ने मनोविश्वास मानिसमा रहेको पाइन्छ । पशुबलि दिए देवदेवीको आर्शीवाद मार्फत पुत्र प्राप्त हुने जनविश्वासले पनि पशुबलि प्रथा समाजमा विद्यमान रहेको पाइन्छ । देवाली वा कुल पूजामा पनि पशुबलि अनिवार्य रूपमा लिइन्छ । दसैंमा सबै जसो समुदायमा पशुबलि दिनु पराम्परागत अनिवार्यता जस्तो देखिन्छ । हिन्दु सँस्कारमा कुभिण्डो, घिरौला, खिरको लड्डु आदि अर्पण गर्नुलाई पनि बलिको रूपमा स्वीकार गरेको पाइन्छ । अतः अहिंसावादीहरूले शक्तिरूपी देवी दुर्गाको उपासना गर्दा फलफूल चढाएको पाइन्छ । तर बलि प्रथावादीहरू भने परम्पराको नाममा निर्दोष पशुको घाँटी रेटेर रगत चढाउने बर्बर कार्य गर्दै आएका छन् ।एकातिर हामी सबै प्राणी भगवानको सन्तति हौँ पनि भन्ने अनि अर्कातिर अबोध र निर्दोष प्राणीको हत्या गरि भगवानलाई खुशी पार्ने नाममा अबोध पशुको बलि चढाउने । के देवीदेवताहरू रगतका प्यासी छन् ? के उनीहरू बलि चाहन्छन् ? रगत माग्छन् ? त्यो पनि आफुले सृजना गरेको सन्तानको घाँटी रेटेर चढाएको रगत ?आफ्नै सन्तानको बध गरी रगत चढाउँदा भगवान कसरी खुशी हुन सक्छन् ? आफ्ना छोराछोरीको बलि चढाउँदा कुन चाँहि आमा खुशी हुनसक्छिन् र ? अतः निर्दोष पशुपंक्षीकोे बलि चढाउनु देवीदेवातालाई खुशी होइन दुखी बनाउनु हो !
बलिप्रथा विद्यमान रहनुको कारण
अहिलेको एक्साइसऔं शताब्दीमा पनि बलि प्रथा हाम्रो समाजमा विद्यमान रहनुका मुख्य कारण अन्धविश्वास नै हो । अवोध पशुको घाँटी रेटेर रगत चढाउँदा देवीदेवता खुशी हुन्छन्, आफूले इच्छाएको पूरा हुन्छ भन्ने भ्रम जुन जनमानसले आफ्नो मन मस्तिष्कमा पालेका छन्, त्यही नै बलि प्रथा जस्ता कुप्रथाको मूल जड हो ।
केहि धार्मिक व्यक्ति तथा संस्था बलि प्रथाविरुद्ध उभिएका छन् भने केहि परम्परको जर्गेणा गर्ने नाममा बलि प्रथालाई निरन्तरता दिनु पर्ने पक्षमा उभिएका देखिन्छन् । यसलाई समलोचनात्मक दृष्टिबाट हेर्दा रुढिवादी तथा कर्मकाण्डीय पक्षलाई अँगिकार गर्ने धार्मिक व्यक्ति वा संस्था बलि प्रथाको पक्षमा उभिएका देखिन्छन् भने अर्कातर्फ आध्यात्मिक पक्षलाई अँगिकार गर्ने तथा समयानुकूल सँस्कार/सँस्कृति परिवर्तन वा परिमार्जन हुनुपर्छ भन्ने सोंच राख्ने धार्मिक व्यक्ति वा संस्था चाँहि बलि प्रथाको विरुद्धमा उभिएको देखिन्छ ।
अन्तमावास्तवमा हामीले बलि प्रथाको अन्तरनिहित सन्देशमूलक भाव बुझ्न सकेनौं । बलि दिनु भनेको त्याग गर्नु हो र हामी भित्र रहेका काम, क्रोध, लोभ, मोह र घृणा जस्ता अमानवीय गुण तथा कुप्रवृत्तिहरू त्याग गर्नु हो ! र यो नै सहि अर्थमा पञ्चबलि दिनु हो । तर बिडम्बना भन्नुपर्छ हाम्रो अबुझता हो या बेबुझता, हामीले आफ्नो कुप्रवृत्तिको बलि दिनु पर्नेमा निर्दोष पशुको बलि दियौं । यस प्रथाले हाम्रो कुप्रवृत्ति बढाउनु बाहेक अरू केहि गरेको छैन । अतः अब हामीले निर्मम पशुबलिलाई रोक्नु पर्छ । पशुबलि अन्त्य गर्नका लागि साँस्कृतिक पुर्नजागरण कार्यक्रमलाई अभियान कै रूपमा लग्नु पर्ने आवश्यकता देखिन्छ । तर पशुबलि प्रथालाई सधैं सधैंका लागि जरै देखि उन्मूलन गर्नका लागि हामीले आफूभित्र रहेको कुप्रवृत्ति तथा अमानवीय गुणको बलि दिनसक्नु पर्छ ।
रोशन खरेल
गुल्मी दरबार -१,गुल्मी
WHAT THE NEWS TEAM
"THE MIRROR OF SOCIETY"
"THE MIRROR OF SOCIETY"


Comments
Post a Comment