दशै, कसैको दशा नबनोस ....शुभकामना|WHAT THE NEWS


                                                        दशै, कसैको दशा नबनोस...........


                                       

    रोशन खरेल 

        गुल्मी |

 विशेषत हिन्दु धर्मालम्बीहरुले बर्षभरि मनाउने चाडवाड मध्ये बडा दशै लाई विशेष महत्वका साथ धुमधामले मनाउने प्रचलन रहेको  छ । खासगरि विजय वा पराक्रमको उत्सवको रुपमा मनाईने यस्ता चाडवाडहरुको धार्मिक विश्वास, मुल्यमान्यता, कथन, जनविस्वास, आस्थालाई अलग-अलग ढंगले विश्लेषण गर्ने गरिन्छ । तथापी मुलत यस्ता चाडवाड, पर्व, उत्सव मनाउने चलनचल्तीले आफन्तजनहरु, ईष्टमित्रहरु, साथीहरु, छिमेकीहरु वीच एक किसिमको आत्मियता एवं सौहार्दपूर्ण वातावरण सृजना गरेर आपसी भाईचारा र सम्बन्धहरु सदृढ र प्रगाढ गराउन मद्दत गर्दछ ।

असत्यमाथि सत्यको विजय’ भएको सम्झनामा मनाउदै आएको यो पर्व आम नेपालीहरुको ठूलो पर्वका रुपमा स्थापित भएको छ। परम्परागतरुपमा मनाइने यश पर्वको दिन शक्तीकि देवी नवदुर्गामाताको पुजाआराधना गरि विशेष विधी पुर्वक घटस्थापना गरेर जमरा उमारेर शुभ साहितमा दशमीका दिन विशेष गरेर ठुलाबडा र मान्यजनबाट टिका र फूल प्रसाद ग्रहण गर्ने चलन चल्दै आएको छ । विशेष गरेर फुलपातीको दिन देखि अष्टमी, नवमी, दशमी र पुर्णिमाको दिनमा विशेष किसिमले पुजापाठ गरेर यस चाडलाई विशेष रौनकयुक्त बनाएर उत्सव मनाउने चलन छ । त्यसो त साना केटाकेटीहरुका लागी नयाँ लुगाफाटोहरु किनी दिने, खसी बलि दिने र विभिन्न शक्तीपिठमा पुजाआराधना गरि देवीदेवताहरुलाई खुशी पारेर मनोआंकाक्षाहरु पुरा हुने मान्यता र प्रचलन छ । अझै भन्नु पर्दा मासुजन्य पदार्थको व्यवस्था गर्ने, मिठा मिठा परिकारहरु, सेलरोटीहरु, नयाँ लुगाफाटोहरु, गरगहना, लठ्ठे पिंग, घुम्ने पिंग, चंगा उडाउने जस्ता कुराहरुलाई विजयदशमीमा विशेष महत्वका साथ हेरिने गरिन्छ ।


                            पछिल्लो समयमा दशैं धनि र हुनेखानेको मात्र हो कि भन्ने भान भइरहको छ । वर्षेनी दशैंमा महंगी बढ्ने परम्पराले यसपाल पनि निरन्तरता पायो । जब दशैं शुरु हुन्छ, तब गरिबको दशाले घरजाम गर्छ । छोराछोरिदेखि श्रीमतिको कचकचले घरको मुख्य अभिभाबकको कान पाक्छ । धरै परिवारका अभिभाबकहरूलाई दशैं नआईदिए ठिक हुन्थयोझैं लाग्छ । तर, के गर्ने समय हो घुम्दैफिर्दै दशैं आएरै छोड्छ । त्यसैले सामान्य परिवारको लागि दशै दशैं नै हो, तर, निम्न परिवारको लागि दशै सदैव दशा नै साबित हुन्छ।
समयक्रमसँगै दशै मनाउने प्रचलन पनि फेरीदै गएको छ । आफ्नो क्षमताअनुसार मनाउनु पर्ने महान चाड दशैलाई देखासिखीपनले कतै न कतैबाट नराम्रोसंग गाँजेको छ भन्दा फरक पर्दैन । छिमेकीले जसरी दशै मनाउछन् आफुले पनि त्यसरी नै मनाउनु पर्ने बाध्यता भनौँ वा कमजोरी हाम्रो समाजमा व्याप्त छ । यस्तो प्रवृतिले दशै जस्तो महान चाडको मौलिकता नै संकटमा पर्ने हो कि भन्ने चिन्ता बढ्न थालेको छ ।हाम्रो समाजमा  गरिबिले गर्दा विहान के खाँउ, बेलुका के खाँउ हुने अवस्था  पनी छ। उनीहरुका घरमा न त दशैको रौनकता आउँछ न त घर सिंगार्ने तामझाम नै । धनिहरुका घरमा सधैँ दशै नै दशै, राम्रो लाउन र मिठो खान उनीहरुलाई कहिले दशै कुर्नु पर्दैन तर दिनभर अरुको काम गरि साझमा हातमुख जोड्ने ती गरिब झुपडिमा कसरी आउछ र खुसी ? तर पनि बर्षदिनमा एकपटक आउने दशैलाई उनिहरु पनि साहुको ऋण लिएरै भएपनि खुसियालिका साथ दशै मनाउन चाहान्छन।
           के ऋण काढेरै भए पनि वा समाजलाई देखाउनैको लागि भए पनि चाडवाड मनाउनै पर्छ र ? पक्कै पनि पर्दैन दशैँ हरेक वर्ष आउँछ दशैंमा खर्च पनि अलि बढी हुन्छ त्यसैले अलि पहिलेदेखी वचत गरेर राख्न सकियो भने सजिलो हुन्छ । दशैँ आफ्नो गच्छे अनुसार मनाउनु पर्छ कसैलाई देखाउनकै लागि दशैँ मनाउने होइन भन्ने मानसिकता हामीमा भयो भने दशैं दशा नभई उत्सव हुन सक्छ । खर्च गरेर तडक–भडक गरेर पर्व मनाउने र नसक्ने वर्गले पनि ऋणधन जुटाएर यस्ता सांस्कृतिक पर्वहरु मनाउदा एउटा वर्ग जहिले पनि समाजमा ऋणको भारी बोक्नुपर्ने अवस्थामा रहेको हुन्छ । अबका दिनहरुमा देखासिकी र आडम्बरयुक्त दशैं मनाउने मानसिकतालाई हामीले परिवर्तन गर्न जान्नुपर्दछ । अब पनि यस्ता खर्चिला पर्वहरुलाई परिवर्तन गर्न सकिएन भने समाजमा रहने विपन्न वर्गका मानिसहरुको अवस्था झनै दयनीय हुन जान्छ ।यसरी हेर्दा विपन्न र आर्थिक अवस्थामा रहेकाहरुको दशै साँच्चै खुशी भन्दा पीडा र दशा लिएर आएको पाईन्छ । तसर्थ सकभर देखासिकी र तडकभडकमा फजुल खर्च गरेर दशै मनाउन नखोजौ । सामान्यतः ठुलाबडा र मान्यजनबाट आशिर्वाद लिने, आत्मियता कायम गर्ने ढंगबाट यसलाई सरल एवं सहज ढंगबाट मनाउन खौजौ ।
              त्यस्तैगरि राज्यलाई अनुरोध छ की यतिबेला पुरै विश्व कोरोनाको महामारी बाट थिलोथिलो भएको छ।यो महामारी बाट हामी नेपालिहरु पनि अछुतो रहन सकेनौं। दिनभर अर्काको भारी बोकेर साझमा हातमुख जोर्ने बिपन्न बर्गहरु यतिबेला बेरोजगार भएर घरमै बन्द अवस्थामा छन।त्यस्ता विपन्न परिवर हरुमा महिना भरि दशैको हर्ष मनाउने वातावरण नमिले पनि कम्तीमा एक दुई दिन भएपनि परिवारमा बसेर खुशी साट्ने मौका मिलाई देउ । पहुँच हुनेवालालाई चाडवाडमा दिईने जथाभावी सरकारी बोनस रकम( दशै खर्च लगायत) बाँडफाँड अविलम्ब बन्द गरि त्यस्ता तमाम विपन्नलाई दशै तिहार राहत प्याकेज बाँड्ने व्यवस्था गर । त्यसो गर्दा कम्तीमा एकै छिन, एकै दिन भएपनि विपन्नहरुले पनि राज्यमा सरकार भएको अनुभुत गर्ने छन् । 
अन्तमा देश तथा विदेशमा रहनुहुने सम्पुर्ण आमाबुवा,दाजुभाइ तथा दिदिबहिनी हरुमा सदैव दुर्गा माता दाहिना रहिरहुन,सत्वुद्दी प्राप्त भैरहोस,सुख-शान्तिको र समृद्दी को सदैव वास रहिरहोस भनी हार्दिक मङ्गलमय शुभकामना ब्यक्त गर्न चाहान्छु।

                                                                    WHAT THE NEWS TEAM
                                                                  THE MIRROR OF SOCIETY


Comments

Popular posts from this blog

गुल्मी-दरबार गा पा ले सुरु गर्यो विवरण संकलन काम।WHAT THE NEWS

के अवोध पशुको घाँटी रेटेर रगत चढाउँदा देवीदेवता खुशी हुन्छन्???

स्याङ्जा का युवाले लेखे प्रम ओलि लाई खुल्ला पत्र