स्याङ्जा का युवाले लेखे प्रम ओलि लाई खुल्ला पत्र

 सम्माननीय प्रधानमन्त्री ज्यू,

तपाईं, हामी सारा नेपालीको एक जिम्मेवार अभिभावक हुनुहुन्छ । २०२६ सालमा नेपाल कम्युनिस्ट पार्टीको सदस्यता ग्रहण गर्नु अघि सात सालको क्रान्तिदेखि पन्चायत र राजतन्त्रको उन्मुलन भनी देशलाई गणतन्त्रको अनुपम परिभाषाभित्र समेट्न तपाईंले गरेको योगदान पक्कै पनि कसैले चाहेर पनि बिर्सन नसक्ला। नेपालका अधिक जनताले देश बिकासमा तपाईंको विकल्प छैन भन्दै गर्दा तपाईंसँग हाम्रो अपेक्षा अनगिन्ती हुनु पक्कै पनि स्वभाविक हो। दुईतिहाइ सरकारको अस्त्र हातमा लिएर शासनको बागडोर सम्हाली "सुखी नेपाली समृद्ध नेपाल" बनाउने तपाईंको आकाङ्क्षा सबै नेपालीलाई स्वागतयोग्य  नहुने कुरै भएन । किनभने नेपाली जनताले तपाईंको निधारमा दुईतिहाइको  चन्दन लगाएर पाँच वर्षे आयुको शुभकामना  दिदै आशा र भरोसाका साथ  देश सुम्पेका हुन् ।
 रंगिन टेलिभिजनका पर्दामा देखाइएका विशाल सपना ,जनतालाई जिउँदै स्वर्ग जान पाउने युधिस्ठिर बनाउने जस्ता आशा देखाइ मनमोहक तुरुपहरु चुनावी मैदानमा फालेर तपाईं सत्ताको भर्‍याङ चढेको कुरा त अवगत नै होला नि है ?  आज समय र उपलब्धिसँगैको यात्रामा हिजो  बुनेका ती सपना  कुनै चलचित्रको स्क्रिप्ट जसरी 'रिमुभ' र 'डिलिट' गर्न मिल्नी भए आज  तिनका  शेष खोज्न 'रिसाइकल बिन' मै पुग्न पर्ने अवस्थाको संकेत त सायदै तपाईलाई हेक्का होला ?

सम्मानयीय प्रधानमन्त्री ज्यू, 
तपाईंको  रामराज्यमा आज सीताहरुलाई  एसिडले स्नान गराइएको ,  कयौं निर्मलाहरुको अस्मिता भष्म पार्ने रावणहरु यहि सडकमा खुलेआम बजार पिटेर तपाईंको न्यायलयलाई  चुनौती दिदै हिडिरहेको त देख्नुभाछ होला नि ? मोतियाबिन्दु त जनताको आँखामा लाग्या रैछ ।त्यसैले तपाईको आँखाले त काम गर्छ भन्नेमा नेपाली जनतालाई पूर्ण विश्वास छ । अब यति भनिदिनुस् , आखिर मर्यादापुरुष  कथित रामहरुसँग  सीताहरु कहिलेसम्म होसियार भएर डराइडराइ हिड्नुपर्ने हो ? दोषीले उन्मुक्ति पाउने र निर्दोष दण्डित हुने अवस्था देख्दादेख्दै हाम्रो राज्यसत्ता निष्पक्ष छ भनेर कसरी विश्वास गर्ने ? के तपाईंले लोकतन्त्रको लडाइँका निम्ति १४ वर्ष जेलेनेल भोगेको भन्नुको तात्पर्य आज यहि बुझ्नुपर्ने अवस्था हो ?

सम्माननीय प्रधानमन्त्री ज्यू ,
कोरोनाको कारुणिक कहरमा आफ्नै घरठाउँमा आफ्ना निधारका डोराले बनाएका कुलेसोबाट पसिना बगाइ खेतबारी सिंचित  गरेर घुडा धसेर देश मै केही गर्ने अभिलाषा साथ आएका युवाहरु हेर्नुस् त ! फेरि दिनहु २०० देखि ४०० को संख्यामा बिदेशिएका छन् । मानौ कि कसैले देशमा आउने सुनामी को पुर्बानुमान दिनहुँ उनीहरुको मस्तिष्कमा प्रसारण गरिरहेको  छ । कति युवा त पासपोर्टको सिरानी लगाएर सुतेका होलान् ? कर्फ्यु र निषेधाज्ञाको कोलाहल शान्ती खेप्न नसकेर फेरि उहीँ बबन्डर बिदेशी फ्याक्ट्रीको हल्ला सुन्न विवश छन् । अझै पनि  कर्फ्युवाला राजमार्ग जसरी तपाईं शान्त बस्न मिल्छ र ?

सम्माननीय प्रधानमन्त्री ज्यू ,
हातखुट्टा काटिएर,दलालीको ठगिमा भोकभोकै मर्दा  तपाईंको मिठा हलुवासरी सपनाले खोइ पेट भरिएको ? बेरोजगारी औंसिले दिनहु डेरा जमाएको बेला  जूनरुपी शासक बनी युवालाई देश मै रोजगारी प्रदान गर्न तपाईंलाई आखिर छेक्दैछ कसले ? चुनावी घोषणा पत्रमा प्रतिव्यक्ति आय कम्तिमा पाँच हजार अमेरिकी डलर  बनाउने लक्ष्य ,के मतहरु मतपेटिका सम्म  सोझाउनका लागि मात्रै सिमित थिए ? थिएनन् त आजसम्म झण्डै अढाई वर्षको यात्रामा खोइ बेरोजगारी घटेको ? के अब वैदेशिक रोजगारीको सङ्ख्यामा वर्षैपिच्छे भएको गुणात्मक वृद्धिलाई नै सरकारको उपलब्धि मान्नुपर्ने हो ? उसो त तपाईकै नाममा संचालित प्रम रोजगार कार्यक्रमले पनि वर्षमा औसत १३ दिन त्यो नि सिपविहिन कार्यक्रमलाई बढवा दिदा तपाईंलाई जनजीविका उकासिएको भान नपरेको त कहाँ हो र ?  

सम्माननीय प्रधानमन्त्री ज्यू ,
 कुशासन , बेतिथि र भ्रष्टाचारको कुरा त के गर्नु र खै ? घोषणपत्रमा समावेश  नभएको अनि वार्षिक नीति तथा कार्यक्रममा कहिल्यै नपरेरै पनि सायद हालसम्मको सबै भन्दा ठुलो उपलब्धिमुलक तत्व नै यहि त होला । कि अरु नै बृहत् छन् प्रम ज्यू ? कुनै मुवाब्जाबिना यसरी वाइडबडी हुँदै,70 करोड बाट फड्को मारी  33 किलो सुन हुँदै आफ्नो  क्षेत्र फैलाउदै अहिले स्वास्थ्य सामाग्री खरिदको क्षेत्रमा आएर झ्याङगिएको  छ। पहिला पहिला बिरालो नभई  श्राद्द नभएजस्तो अहिले तपाईंको शासनकालमा भ्रष्टाचार बिना विकास असम्भव नै देखिएको हो त ? तपाईंले बारम्बार भन्ने गरेको भ्रष्टाचार प्रति शून्य सहनशीलताको मुल्यांकन तथा सर्वेक्षण कसले गरिदिने ? 

सम्माननीय प्रधानमन्त्री ज्यू ,
 भ्रष्टाचाररूपी  संक्रामक किटाणु  सल्बलाइराख्दा तपाईको भ्रष्टाचारी देख्नै नसक्ने ललिते अठोट्ले ती तत्वहरु नष्ट पार्न किन नजागेका होलान् ? भनसुन र दादागिरीको परम्परा कहिले सम्म चल्ने ? कि तपाईंको खोपीभित्र पुग्दैनन् यी खबर ?  बाढिपहिरोका पीडितले  राहत पाउन तपाईंहरु सँग गोरु बेचेको साइनो भए पनि  हुनै पर्ने आवश्यकता हो ? असार  देखि त्रिपालको आशमा बसेका लाई चाड्बाड सक्किएपछी मात्र बजेट छुट्टाउने यो कस्तो परम्परा हो ? पहिरोले खच्चड हिड्ने  बाटो  पुरेर  नुनतेल र सिटामोल  ल्याउने अवस्था नहुदा तपाईंको फास्ट्ट्रयाक्को सपनाले तरकारी नुनिलो बनाउन कसरी सक्ला र ? पानीजहाज ,पाइपलाइन , रेल-मार्गजस्ता दिग्भ्रमित पार्ने कैयौं सपनाको प्रगतीस्तर आज कहाँ छ भन्ने त यहाँलाई जानकार नै होला !

सम्माननीय प्रधानमन्त्री ज्यू ,
हुन त राज्यकोषबाट लाखौको पानी पिउने मान्छेलाई त महङ्गीको के  पत्तो होला र ! त्यहीँ पनि महंगीले गगनचुम्नी रेकर्ड राख्न लागेको  सादर जानकारी यहाँमाझ पस्किन चाहन्छु । एउटा सामान्य जागीर गर्ने मन्ध्यम बर्ग को  ब्याक्ती को दिन भरी को आय ले उस्को सानो परिवार को दुई छाक राम्ररी  नटर्ने अवस्था छ ।घाममा महंगीरुपी आगो निलेर एक छाक टार्नु पर्ने विवशता  कतै सुन्नुभएको छ ? छैन भने सुन्नुस् यो तपाईंले नै सत्ता चलाएको रामराज्यको वास्तविकता हो। अचम्म लग्यो होला है ? सर्बहारा गरिब बर्गको बाच्नेअधिकार खोइ ? खेतमा मोल हाल्ने बेला भैसक्दा कलकत्ताबाट गाडी यति मेटृक टन लिएर हिँडिसक्यो भनेर अर्को वर्ष सम्म झुलाइराख्ने हो किसानलाई ? बबुरा किसानको हातमा आफ्नो पसिनाको फल रहलपहल मात्र रहने तेहि पनि किस्ताबन्दीमा । अरु बिच्चैमा पुजिपति व्यवसायीले  चप्काउने के चलन हो यो ? मार्क्सवाद भन्या यस्तै हो क्या है साँच्ची ?

सम्माननीय प्रधानमन्त्री ज्यु,
तपाईंको मनोरेलको  त कुरै छाडौ ,सत्तारुपी रेल सहि लिकमा कहिलेबाट हिँडाउने ? जहाज र रेलको त के सपना देख्नु र ! साइकल र रिक्सा चलाउनुमा धेरै  फरक छ हजुर। शक्तिहरु मिलेर रिक्सा एकातिर तानी सन्तुलन बिगार्न लागेको  हेक्का त होला नि है ?उत्तर बाट आगो झोसिराख्नी , दक्षिणले बेप्रवाह सिन्काले भुटिराख्दा हाडी चर्किएर फुटिएर घान समेत छताछुल्ल हुने पो हो कि ? लर्बराएको राष्ट्रवाद पैतालामुनी कुल्चेर अझ त्यसैलाई पाङ्रा बनाएर समयको प्रबाहमा आफुलाइ कहिले सम्म दौडाउनी ? के हाम्रो स्वाभिमान कसैको लट्टाइको धागोमा बेरिएर उडेको उदेश्यविहिन चङ्गा हो ? जसलाइ विदेशी धागाले नियन्त्रण गरिराख्ने ? एउटा नक्सा कागजमा सार्बजनिक गरि त्यसैको बैसाखी टेकेर, तेसैलाइ लगानी ठानी कहिले सम्म ब्याज खाइराख्ने ? नाभि देखिको देशप्रेम उजागर गरेर हाम्रो रास्ट्र बलियो भएको हामीले कहिले देख्न पाउने ?

सम्मानीय प्रधानमन्त्री ज्यू ,
तपाईंकै मन्त्रीमण्डलमा , केही कुरा जनताले प्रतिकार गरे बढाइ चढाइ नुन तेल मसला हालेर अतिरन्जन गराइयो भनी तथ्य र प्रमाणबाट पन्छिन खोजी मिथ्या कुरालाई सर्वेसर्वा मान्ने मन्त्री छन् । तपाईंका विश्वास पात्र अर्थात नेपाल सरकारका त्यस्ता मन्त्रीबाट नगरिकले कस्तो अपेक्षा राख्ने ? उहाँहरुले जे बोल्यो, जे  सुन्यो त्यहि बोलिदिने र सुनिदिने ,जयजयकार गरि भक्तीगान गाउने ज्ञान नेपाली जनतामा नभएर पनि होला है यस्तो बेहाल भएको ? कस्तो 'गवाँर' हामी नेपाली यति पनि आफै नजान्ने ! कठै हामी नेपाली !!

हाम्रो लडाइ पद शक्ति र कुर्ची को नभै नीति व्यवस्था र बिधान को हो भनी तारन्तार अभिव्यक्ति दिदै गर्दा बास्कोटाको उन्मुक्ती ,अनुचित समयमा मन्त्रालयको हेरफेर,स्वस्थ्य सामग्री खरिद मा लापरबाही  आदि इत्यादी पनि बिधान बाट नि निर्दिष्ट हुन ? तर यसरी अरुको पाप पखालिन मन्दिर मा चडाइएको फुल कहिले सम्म बन्ने तपाईं ? अहिले एस्तो भयावह स्थिती मा मन्दिर बनाउने , अरबौ को गाडी  किन्ने,करोडौंको गलैचा,जिमखाना खोल्ने,सांसद कोष मा पैसा थुपारिराख्नि बेला होला त तपाईं नै एकचोटी मनन गर्दिनुहोस न। बनाइएका योजना ,फुरेका निति र कार्यक्रम गर्भमै तुहिने,समय को पावन्दिमा कुनै प्रोजेक्ट कहिल्यै नसकिने ,बिसौ बर्ष  लाग्ने  प्रवृत्तिले तपाईंको 15000 मेगावाट बिजुलि उत्पादन गर्ने लक्ष पूरा होला त??कहिले सम्म नेपाली जनतालाइ भ्रमदास,दङ्गदास,जिल्लदास,वक्रदास आदि दासै दास बनाइराख्ने? तपाईं कै नगरबासिले गुनासा का ज्वारभाटा सम्पुर्ण पत्रपत्रिका, च्यानलर्फत पोख्दै गर्दा सोच्नुस त अरु ठाउ को हालत के होला?

सम्मनिय प्रमज्यु तपाईं र तपाइँको  टिम ले आफू भित्र भएको सम्पुर्ण  खुबी निचोरेर देश को हित मा पोख्ने दिन आउला त?आफू बाहुबलि बनी आफु एकत्रित निर्णय लिगि  जाबो पार्टी त राम्रो सङ चलाउन नसक्ने ले तीन करोड जनता लाई कसरी सम्हाल्ने भन्ने अभिव्यक्ति बिशेसज्ञ बाट सुन्दै गर्दा तपाईं सङ ठुलो आश भएको म जस्ता जनता ले के भनेर चित्त बुझाउने?दुइतिहाइरुपि बन्चरो लिग्ने कागज सम्म काट्न नसकेर बसेसी तेसैले घुडा ताकी घाइते पार्ला कि भन्ने भान सम्पुर्ण जनतालाई भैसकेको देखिन्छ ।यसरी प्रस्नचिन्न भित्र मात्र तपाइलाई समाबेश नगरि कुनै दिन धन्यवाद पत्र पनि  लेख्न पाइयोस भन्ने अपेक्षा गर्दछु। जय नेपाली!!, जय मेरो देश!!!
नाम: सरोज अधिकारी 
ठेगाना: भिरकोट -५ स्याङ्जा 

Comments

Post a Comment

Popular posts from this blog

गुल्मी-दरबार गा पा ले सुरु गर्यो विवरण संकलन काम।WHAT THE NEWS

के अवोध पशुको घाँटी रेटेर रगत चढाउँदा देवीदेवता खुशी हुन्छन्???